गुरुकुल विद्या सदनमा वार्षिक खेलकुद सम्पन्न
गुरुकुल विद्या सदन माध्यमिक विद्यालय, पोखरा ०९, नयाँबजारमा वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको छ । कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रम तीन दिनसम्म सञ्चालन भएको थियो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा विद्यार्थीलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको विद्यालयले जनाएको छ ।

खेलकुदको उदघाटन कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवि कार्कीले विद्यालयस्तरबाटै खेलकुद प्रतिभाको पहिचान सम्भव हुने हुँदा विद्यालयमा देखिएको खेल प्रतिभालाई सही मार्गदर्शन र अवसर दिइएमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन सकिने बताउनुभयो । विद्यालयले आगामी दिनमा पनि विद्यार्थीको प्रतिभा उजागर गर्ने यस्ता गतिविधिलाई निरन्तरता दिने कार्कीको भनाई छ ।
कार्यक्रममा प्लस टु संयोजक बसन्त श्रेष्ठले स्वागत मन्तब्य राख्नुभएको थियो । विद्यार्थीहरूले आफ्नो–आफ्नो सदन अनुसार समूह बनाएर उत्साहका साथ आन्तरिक प्रतिस्पर्धा गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवि कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम विद्यालयका प्राचार्य सुवेदीको अधयक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम सञ्चालन विद्यालयका सह प्राचार्य फणीन्द्र अधिकारीले र खेलकुदको सम्पूर्ण व्यवस्थापन विद्यालयका खेलकुद प्रशिक्षेक खेम कार्कीको नेतृत्वमा गरिएको थियो । सम्पूर्ण खेलहरू विद्यालयको प्राङ्गण तथा पोखरा–२०, भलामस्थित खेलमैदानमा सञ्चालन गरिएको विद्यालयले जानकारी दिएको छ ।